• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • उत्कृष्ट पत्रपत्रिका र मिडियाहरुबाट
  • बालबालिका
  • English

प्रवर्धन कन्ट्रिव्युटर 2078/07/14


: तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो 

Card image cap

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो 
काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । 
कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे । उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने उनले बताए । 
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो । 
नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विपुल पोखरेलले ‘दुङाल’ले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको बताए । उनले अगाडि थपे, ‘पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो छ । साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास हो ।’  
वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ । यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो ।’

कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले ‘दुङाल’मा आफ्नै जीवनकथा भेटेको सुनाए । उनले भने, ‘तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए । हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ ।’
 

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved